बैतडी– बैतडीकाे राैलाकेदार धाममा दर्शनार्थीहरुकाे घुँइचाे लागेकाे छ ।
ऐतिहासिक तथा पौराणिक महत्व बोकेको रौलाकेदार धाममा श्रावण महिना शुरु भएयता दर्शनार्थीहरुको घुइँचो लागेको हाे ।
श्रावण महिना सुरु भएसंगै धाममा भक्तजनकाे भिड लागेकाे मनिदरका मूलपूजारी बिष्णुदत्त भट्टले बताए ।
भगवान शिवको बासस्थानको रुपमा रहेको रौलाकेदार धाममा हरेक बर्ष श्रावण महिनाभरी दर्शनार्थीहरुको भीड लाग्ने गर्दछ ।
सुर्नया गाउँपालिका ४ मा अवस्थित रौलाकेदार धाम हिन्दूहरुको धार्मिक आस्थाको केन्द्र हाे । यो मन्दिरमा सुर्नया ४ को सन्सेरीमाण्डौ र सुर्नया गाउँपालिकाको केन्द्रबाट झन्डै तीनदेखी चार घण्टा उकालाे पार गरेर पुगिन्छ ।
रौलाकेदारको उत्पत्ति बद्रीकेदारबाट भएकाले रौलाकेदारको महत्व बद्रीकेदार जत्तिकै रहेको रौलाकेदारका पूजारी भट्टले बताए ।
रौलाकेदारको दर्शन गरेमा मनोकामना पूर्ण हुने भएकाले सबैको आस्थाको केन्द्र बन्न पुगेको सुर्नया गाउँपालिका वडा नं ४का अध्य एवं प्रवक्ता प्रताप महराले बताए ।
याे धाममा श्रावणको महिना शुरु भएसंगै विभिन्न ठाउँबाट दर्शनार्थीहरु पुग्न थालेका स्थानीय युवा प्रकाश महरा प्रिन्सले बताए ।भगवान शिवका १२ ओटा ज्योर्तिलिङ्ग मध्ये रौलाकेदार पनि एक रहेको जानकारहरुले बताएका छन् ।
नेपालका प्रथम ऐतिहासिक जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले पनि रौलाकेदार नै केदारनाथ ज्योर्तिलिङ्ग भएको बताएका छन् । रावलाद्री पर्वतमा रहेको हुनाले रौलाकेदार नाम रहन गएको किम्वदन्ती रहेको छ ।
रौलाकेदराको दर्शन गरेमा बद्रीकेदारको दर्शन गरेजत्तिकै फल प्राप्त हुने जनविश्वास रही आएको छ ।
रौलाकेदार धाममा पुग्नका लागि बाटो अप्ठ्यारो भएपनि दैनिक सैयौंको संख्यामा दर्शनार्थीहरु पुग्ने गरेका छन् ।
रौलाकेदार धाममा श्रावणको महिना पूजापाठ हुने गरेको छ भने कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन बिशेष जात्रा हुने गरेको छ ।
कार्तिकको जात्रामा सुर्नया गाउँपालिका ५ मडस्थित रौलाकेदारको भण्डार घरबाट भण्डारसहित जाने र जात्रा लाग्ने गरेको छ ।










प्रतिक्रिया दिनुहोस्