images
images

आकस्मिक बाहेकका सेवा ठप्प पारेर सुदूरपश्चिमका स्वास्थ्यकर्मी आन्दाेलनमा

बैतडी-स्वास्थ्यकर्मीहरु आन्दाेलित भएका छन् ।

सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरु आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् ।

प्रदेश सरकारले ल्याएको स्थानीय सेवा ऐनमा स्वास्थ्यकर्मीहरुलाई विभेद गरिएको भन्दै उनीहरु विगत केही दिन देखि आन्दोलित छन् ।

आन्दोलनमा रहेका स्वास्थ्यकर्मी सरकारले माग नसुने भन्दै आजदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलन गर्दै छन् ।

स्थानीय तह स्वतन्त्र स्वास्थ्यकर्मी संघर्ष समितिले आफूहरुका न्यायोचित माग सम्बोधनका लागि प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको तर सरकारका तर्फबाट माग सम्बोधनका बिषयमा कुनै चासो नदिएपछि आजदेखि आकस्मिक बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको  स्वास्थ्यकर्मीहरुकाे भनाइ  छ ।

स्थानीय तहमा समायोजन भएर आएका स्वास्थ्यकर्मीहरुलाई ऐनले विभेद गरेकाले आफूहरु आन्दोलन उत्रिन बाध्य भएको संघर्ष समितिका संयोजक राजेन्द्रसिंह साउँदले बताए  ।

स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सेवा ऐन, २०५३ बमोजिम पदनाम कायम हुने गरी समायोजन ऐन २०७५ बमोजीम स्थानीय तहमा समायोजन भएका स्वास्थ्यकर्मीहरुलाई तह वृद्धि गर्नुपर्ने आफूहरुको माग रहेको साउँदले बताए ।

सुदूरपश्चिम सरकारले ल्याएको स्थानीय सेवा ऐनले सबैलाई समान किसिमको व्यवहार नगरेकाले आफूहरु आन्दोलनमा उत्रेको उनको भनाइ छ ।

स्वास्थ्यकर्मीहरूले कर्मचारी समायोजन ऐन, २०७५ ले व्यवस्था गरे अनुसार आफूहरूको दरबन्दी र सेवा सुविधा मिलाउनुपर्ने बताएका छन् ।

शुरुमा स्थानीय तहमा समायोजन गर्दा समेत स्वास्थ्यकर्मीहरुमाथि विभेद गरिएको र अहिलेको ऐनले पनि विभेद गरेको उनीहरुको आरोप छ ।

स्थानीय स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा ठप्प हुने भएपछि सेवाग्राही मारमा पर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्