बैतडी – बैतडीका दुई सहित सुदूरपश्चिमका १३ क्याम्पसलाई आंगिक बनाउन माग गरिएकाे छ ।
जिल्लाकाे पुर्चाैडीमा रहेकाे हाँट र डिलाशैनीमा रहेकाे गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज गोकुलेश्वर सहित सुदूरपश्चिमका विभिन्न १३ क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न माग गरिएकाे हाे ।
प्रदेशका १३ सामुदायिक क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत आंगिक क्याम्पसको रूपमा समायोजन गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरिएको हाे ।
नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री निवास बालकोट पुगेर औपचारिकरूपमा माग पत्र बुझाएको हो।
पत्रमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त १३ वटा क्याम्पसलाई ०८२/०८३ मा आंगिकको रुपमा समायोजन गरिदिन आग्रह गरिएको छ ।
प्रतिनिधिमण्डलले दार्चुलाको शंकरपुर क्याम्पस पस्तीसहित, भानु बहुमुखी क्याम्पस दोधरा चाँदनी कञ्चनपुर, अछाम बहुमुखी क्याम्पस मंगलसेन अछाम, लम्की बहुमुखी क्याम्पस कैलाली, केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पस डोटी, घोडाघोडी बहुमुखी क्याम्पस कैलाली, कृष्ण वैजनाथ बहुमुखी क्याम्पस झलारी कञ्चनपुर, पुचौडी बहुमुखी क्याम्पस हाँट बैतडी, बझाङदीप बहुमुखी क्याम्पस बझाङ, सुनकुडा बहुमुखी क्याम्पस बझाङ, भिमदत्त बहुमुखी क्याम्पस डडेल्धुरा, महाकाली बहुमुखी क्याम्पस बेलौरी कञ्चनपुर र गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज गोकुलेश्वर बैतडीलाई सुदूपश्चिम विश्वविद्यायको आंगिक क्याम्सपसमा समायोजन गरिदिन माग गरिएको छ।
सुदूरपश्चिम प्रदेश भौगोलिक रूपमा विकट र विकासमा पछाडि परेको क्षेत्र भएकाले शिक्षामा गरिएको लगानीले बसाइँसराइ नियन्त्रण, स्थानीय रोजगारीको सृजना र उत्पादनमुखी अर्थतन्त्रतर्फको यात्रा सहज बनाउने दाबी गरिएको छ ।
प्रधानमन्त्री ओली नेतृत्वको सरकारले शिक्षालाई प्राथमिकतामा राख्दै आत्मनिर्भर राष्ट्र निर्माण गर्ने प्रतिबद्धता जनाउँदै आएको छ । सोही अनुसार क्याम्पस समायोजनको प्रक्रिया पनि तत्काल अगाडि बढाउन ध्यानाकर्षण पत्रमार्फत आग्रह गरिएको छ ।
नेता भट्टको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा एमाले पोलिटब्यूरो सदस्य तथा दार्चुला इन्चार्ज गणेश सिंह ठगुन्ना, एमाले पोलिटब्युरो सदस्य तथा पूर्व मूख्यमन्त्री राजेन्द्र रावल, एमाले कैलाली इन्चार्ज नारदमुनी राना, एमाले कञ्चनपुर इन्चार्ज निरुदेवी पाल र एमाले डोटी इन्चार्ज गौरी ओली हुनुहुन्थयो ।
त्यस्तै एमाले केन्द्रिय कमिटी सदस्य तथा बाजुरा ईन्चार्ज लाल बहादुर थापा, केन्द्रिय कमिटी सदस्य तथा अछाम इन्चार्ज झपट बोहरा, डडेल्धुरा इन्चार्ज पठान सिंह बोहरा, केन्द्रिय कमिटी सदस्य तथा बैतडी इन्चार्ज लिलाधर भट्ट, सुदुरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र बहादुर पाल, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजका प्रमुख परमानन्द जोशी र अनेरास्ववियु केन्द्रिय कमिटी निर्वतमान उपाध्यक्ष गोविन्द गिरी लगायत सहभागी थिए ।










प्रतिक्रिया दिनुहोस्