बैतडी– बैतडीमा डेंगुको जोखिम बढ्दै गएको छ ।
स्वास्थ्य कार्यालय बैतडीको प्रयोगशालामा डेंगु परीक्षण गर्दा हालसम्म सात जनामा सङ्क्रमण पुष्टि भइसकेको प्रयोगशालाका प्राविधिक जयसिंह बडालले जानकारी दिए ।
डेंगु रोग संक्रमण देखिएकाहरु मध्ये दशरथचन्द नगरपालिकामा ३ जना, पुचौडी नगरपालिकामा २ जना, मेलौली नगरपालिका र पाटन नगरपालिकामा १/१ जना सङ्क्रमित भेटिएपछि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ ।
वर्षायाममा लामखुट्टे बढी सक्रिय हुने भएकाले रोगको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले जिल्ला सदरमुकाम र पाटन बजारमा अभियान सञ्चालन गरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले बताउनु भयो ।
अभियानमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, नागरिक समाज तथा स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
अभियान बुधबार सञ्चालन गरिएको हो । यसैबीच, स्थानीय तहहरुले पनि डेंगु रोकथाम तथा नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेका छन् ।
दोगडाकेदार गाउँपालिकाले हरेक शुक्रबार सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ ।
स्वास्थ्य कार्यालय बैतडीले डेङ्गीको संक्रमण बढ्दै गएकाले व्यक्तिगत तथा वातावरणीय सरसफाइमा ध्यान दिन आग्रह गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्