images
images

गाउँदेखि ग्लोबल स्टेजसम्म पुगेका तामाङ अकालमै अस्ताए!

काठमाण्डाै – इन्डियन आइडल विजेता प्रशान्त तामाङको निधन भएको छ ।

४२ वर्षका तामाङलाई ह्रदयघात भएर नयाँ दिल्लीको एक अस्पतालमा पुर्‍याउँदा अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।

फिल्मकर्मी राजेश घतानी, गायक प्रमोद खरेललगायतले तामाङको निधनप्रति सामाजिक सञ्जालमार्फत श्रदाञ्जली व्यक्त गरेका छन् ।

भारतीय सञ्चारमाध्यमहरूले अरुणाचल प्रदेशमा कार्यक्रम सकेर दिल्ली फर्किएलगत्तै उनको निधन भएको जनाएका छन् ।

पश्चिम बङ्गालको दार्जिलिङमा साधारण परिवारमा जन्मिएका तामाङले सन् २००७ मा तेस्राे संस्करणकाे इन्डियन आइडलकाे उपाधिसँगै राष्ट्रियस्तरको ख्याति हासिल गरेका थिए ।

नेपाली भाषी तामाङलाई इन्डियन आइडलमा जिताउन नेपालमा पनि भोटिङ अभियानहरू चलेका थिए ।

कोलकाता प्रहरीमा कन्स्टेबलका रूपमा सेवा थालेका तामाङले पछि राजीनामा दिएका थिए ।

उनले गाएका थुप्रै नेपाली गीत चर्चित छन् । तामाङले ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ लगायतका नेपाली चलचित्रमा अभिनय गरेका छन् ।
तामाङले सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउडमा डेब्यु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्